देश सङ्घीयताको बहसमा छ। हरेक जातजाति र समुदायले आफ्नो अस्तित्व र अधिकारका लागि केन्द्रिकृत राज्य प्रणालीलाई धावा बोलिरहेको समय हो यो। यस्तो समयमा मैथिली कला र साहित्यमा भइरहेको अत्यधिक काम देखेर खुशी लाग्छ। नाटक, कविता, चित्रकला, सङ्गीतमा प्रशस्त काम भइरहेका छन्। अझै पनि केन्द्रले यसलाई वास्ता नगर्नु विडम्बना हो। जिल्लामा मिनापले जातीय हिंसाविरुद्ध एउटै नाटक सयभन्दा बढी प्रदर्शन गर्यो। गत महिना गुरुकूलमा रमेश रञ्जनले मैथिली कविता वाचन गरे। सुनील मल्लिकले मैथिली गीति एल्बम लेहुआयल आँचर र खोँता सिङ्गार निकाले। तर यी सबै कुराको राजधानीलाई पत्तो छैन।
भर्खरै धीरेन्द्र प्रेमर्षिको सङ्गीतमा नयाँ गीति एलबम बजारमा आयो ‘डेग’। धीरेन्द्र राजधानीको प्रचार र भीडदेखि नलोभ्भिई लहान पुगे र ७ जना युवाहरुको हातबाट आफ्नो एल्बम विमोचन गराए।
हम ने पहाडी आ ने मधेसी, हिन्दू ने मुसलमान छी
हम नेपालक सुच्चा सन्तति मैथिक वीर जवान छी
देश हमर इमान, माटि हमर भगवान
सैलुन वा जुत्ता पलिस गर्न जाँदा बाठो भएर हिन्दीमा गफ गर्न आतुर हुने हामी नेपालीका लागि माथिको गीत अनुवाद गर्नुपर्छ भन्ने मैले ठानिनँ। किनकि यो हाम्रै देशका नागरिकहरूले बोल्ने भाषा हो। एक नेपालीले अर्को नेपालीको भाषा, संस्कृति र स्वभावलाई कति माया गर्छ भन्ने चुनौती पनि हो यो।
उक्त गीतमात्रै होइन, एल्बमभित्रका अन्य ७ वटा गीत पनि यस्तै मर्मस्पर्शी र गेयात्मक छन्। धीरेन्द्र प्रेमर्षिको विविधतापूर्ण सङ्गीतले गीतहरू सुनिरहुँ लाग्छन्।
‘डेग’को अर्थ पाइला हुन्छ। एल्बमका गीत पनि प्रतीकात्मक छन्। सबै गीतहरूले नेपालीबीच एकताको आह्वान गरेका छन्। यस एल्बमको प्रमुख विशेषता हो गीतका शब्दहरू उत्कृष्ट हुनु। सङ्गीतकार प्रेमर्षि आफैँले पनि यस एल्बमलाई ‘युवा जागरण तथा सशक्तिकरणका निम्ति’ भनेका छन्।
मैथिल समाज लोगकथा, लोकभाका र लोकसंस्कृतिले अत्याधिक धनी छ। र, हरेक सिर्जनामा धीरेन्द्रले मैथिली समाजको प्रतिबिम्ब भर्ने प्रयास गरेका हुन्छन्। एल्बमभित्रका दुईवटा गीतका रचनाकार धीरेन्द्र आफैँ, त्यसैगरी साहिल अनवर, श्रीराज, पुनम ठाकुर, रोशन जनकपुरी, मीना ठाकुर र रूपा झाका एक-एकवटा रचना रहेका छन्। एल्बमको पुछारको गीत ‘भाइ रे, एमकी जतरा निम्मन छै’ अत्याधिक आरोह-अवरोह र लय भएको गीत हो। यस गीतमा धीरेन्द्रको स्वर निकै परिपक्व सुनिन्छ।
एल्बममा डा. आभास लाभले दुईवटा गीत गाएका छन्। यिनको स्वर जादूमय लाग्छ। किनकि यी गायनमा शब्दहरूलाई मजाले खेलाउन सक्दारहेछन्। स्वरमा मिठास छ। शिवचन्द्र दास, सन्तोषकुमार झा, हरिशङ्कर चौधरी, अविनाश मिश्र, मुकेश प्रियदर्शी, मुनचुन देव, विश्वनाथ झा, राजकुमार त्यागी आदिको स्वरले एल्बमलाई अझै उत्कृष्ट बनाएको छ।
पहिलो कुरा त यी रचनाहरू उत्कृष्ट साहित्य हुन्। त्यसमा धीरेन्द्रले आधुनिक सङ्गीत भरेका छन्। तेस्रो महत्त्वपूर्ण कुरा सबै गायकहररूको स्वरमा निखार छ। अचम्मलाग्दो कुरा हामीले नेपाली सङ्गीतले कहिल्यै वास्ता नगरेका मैथिली भाषाका गायकहरूको स्वर साधनामय छ। यदि ती स्वरलाई नेपाली भाषाका गीत पनि गाउन लगाए नेपाली आधुनिक सङ्गीतले नयाँ मिठास पाउने थियो।
धीरेन्द्र प्रेमर्षिको यसभन्दा अघि आधा दर्जन एल्बम बजारमा आइसकेका छन्। नेपाली र मैथिली भाषामा बराबर दक्खल भएका यी कवि स्थापित सङ्गीतकार र गायक हुन्। पेसाले सरकारी कर्मचारी प्रेमर्षिले कला, साहित्य र संस्कृतिका क्षेत्रमा धेरै काम गरेका छन्। रेडियो, टेलिभिजन, पत्रपत्रिकाजस्ता सञ्चारमाध्यममा पनि आफ्नो सिर्जना प्रस्तुत गरिरहेका छन्। सिस्नुपानी नेपालमा संलग्न यिनले २०६२/०६३ को आन्दोलनमा गणतन्त्र कविता उराले। त्यसो त हरेक वर्षको सिस्नुपानी द्यौँसीका प्रमुख आकर्षण हुन् प्रेमर्षि। उनले चलाउने कान्तिपुर एफएमको हेलो मिथिलाले मैथिली भाषाको प्रवर्द्धन र लोकप्रियतामा ठूलो भूमिका खेलेको छ।
गोरखापत्र दैनिकको मैथिली विभागको संयोजक पनि यिनै हुन्। यिनकी श्रीमती रूपा झा पनि गायन र रचनामा सक्रिय छिन्। श्रीमान्-श्रीमती मिलेर प्रशस्त सांस्कृतिक अभियान नै चलाएका छन्। प्रेमर्षिको अर्को विशिष्टता भनेको मैथिली-नेपाली अनुवाद हो। महेन्द्र मलङ्गियाको मैथिली नाट्यकृति प्रेमर्षिको अनुवादमा भर्खरै बजारमा आएको छ।
धीरेन्द्र प्रेमर्षि राम्रा सर्जक त हुन् नै, यिनले गरको सांस्कृतिक अभियन्ताको भूमिकाले राजनीतिक रूपमा पनि ठूलो अर्थ लाग्छ। उनलाई साधुवाद।
(मैले असार ३१ गते मेरो जन्मदिनदेखि घिमिरे युवराज नलेखेर युवराज मात्रै लेख्न थालेको हुँ।)