केही हप्तादेखि कला, साहित्य, भूमि र राजनीतिसँग जोडिएका केही प्रश्नले मेरो काल्पनिकीमा हलचल ल्याएका छन्। कुनै-कुनै प्रसङ्ग बाहिरका छन् भने कुनै देशभित्रका छन्। तर मलाई सिर्जना, स्वतन्त्र चिन्तन र त्यसमाथि जाइलाग्नेहरूका चरित्रहरूले धेरै हल्लाएका छन्। सिर्जना गर्नेलाई आफ्नो परिवेश, आफ्नो माटो, नदी र आकाश अनि मुक्त भएर रचना गर्ने आधारहरू चाहिन्छन् भन्ने मान्यता छन्। यसमा अरू केही चिन्ता पनि जोडिएका छन्। मलाई धेरै ठाउँमा सोधेको एउटा प्रश्न आफैँमा उत्तरजस्तो लाग्छ। प्रश्न छ- हामी अहिले विश्वसाहित्य, विश्वकलाको क्षेत्रमा कहाँ छौँ? यसको मैले बुझेको उत्तर यत्ति छ। हाम्रा सिर्जनाका चिन्ता हाम्रो परिवेशबाट उठेका हुन्छन्, अनि तिनको मूल्य विश्वजनीन हुन्छ। म पहिला मलाई छोएका केही प्रसङ्हरू उठाउँछु।
मैथिली भाषाका चौधौँ/पन्ध्रौँ शताब्दीतिरका विख्यात कवि विद्यापतिको विषयमा पढ्दै जाँदा एउटा प्रसङ्ग भेटेँ। कवि र भूमि अनि नदी र जीवनको सम्बन्ध विषयको यो एउटा शक्तिशाली रूपक हो। त्यस्तै भारतीय चित्रकार मकबुल फिदा हुसेनको गत बिहीबार ९५ वर्षको उमेरमा लन्डनमा निर्वासित अवस्थामा दिवंगत भएको कुरासँग जोडिएको छ। मधुवनीका कवि विद्यापतिको लामो जीवनको अवसानको कथा र हुसेनको कथामा केही अन्तर छन्, तर केही बलिया साम्य छन्। धेरै वृद्ध भइसकेका कवि विद्यापतिलाई गंगानदीमा गएर देह विसर्जन गर्ने इच्छा भयो। उनले छोराछोरी र इष्टमित्रलाई बोलाएर उनलाई गंगानदीमा लगिदिनु भने। पाल्कीमा वृद्ध शरीर राखेर रातभरिमा उनलाई गंगानदी नजिकै पुर्या्इयो। कविले भने, मलाई यहीँ राख। अब गंगामाता मलाई भेट्न यहीँ आउँछिन्। अढाई कोस टाढाबाट नदी कसरी यहाँ आउँछिन र, उहीँ जानुपर्छ, उनीहरूले जोड दिए। कवि मानेनन्। एउटा झिनो शरीर भइसकेको पुत्र मातालाई भेट्न यहाँसम्म आउँछ भने माता उसलाई भेट्न यतिसम्म किन आउँदिनन्? कवि त्यहीँ पर्खे। केही समयपछि नदीको भँगालो कविलाई भेट्न आइपुग्यो। सबै चकित परे। कविले रचे-
बड़ सुखसार पाओल तुअ तीरे । छाड़इत निकट नयन बह नीरे ।।
कर जोड़ि बिनमञो विमलतरङ्गे । पुनि दरसन होअ पुनमति गङ्गे ।।
एक अपराध छमब मोर जानी । परसल माए पाए तुअ पानी ।।
कि करब जप-तप जोग-धेआने । जनम सुफल भेल एकहि सनाने ।।
भनइ विद्यापति समदञो तोँही । अन्त काल जनु बिसरह मोही ।।
मलाई लाग्छ, मैले अलिअलि बुझेजति सबैले बुझिने यो शक्तिशाली श्लोकको अनुवाद चाहिँदैन।
कवि विद्यापतिको नदी र भूमिप्रतिको अनुराग एक रूपक हो। नदी एक बहाब हो, समय र तरङ्ग हो। यिनका कविता र यिनको जीवनको विषयमा खोजी-खोजी पढिरहँदा म द्रवित भएको छु। मैथिली भाषाका यी महान कविको हामी त्यति चर्चा गर्दैनौँ। विद्यापतिको काव्य नेपाली पाठकसामु पुर्यााउनुपर्ने दायित्व कसको हो? नेपाली भाषा र यसका कविहरूलाई मात्र प्रचार गरिहिँड्ने राज्य, राजधानीका हैकमवादी र घमन्डी धनीमानी एलिटहरूले नेपालको दोस्रो महान भाषाका यी कविको विषयमा कति थाहा पाएका छन्? म आफ्नै अनुभवबाट यसको उत्तर खोज्ने क्रममा लागेको छु।
नेपाल उपत्यकाको महान सभ्यताभित्र कवि विद्यापति विद्यमान छन्। पाटनका पुराना जात्रा र प्रस्तुतिमा अहिले पनि उनका श्लोकहरू पाठ गरिन्छन्। यो नेपाल मण्डलका पत्थरशिला, हस्तलिखित ग्रन्थ र छापिएका शास्त्रहरूमा जताततै मैथिली भाषा छ। यस भूखण्डको स्पन्दन छ। यतातिरको सिर्जनात्मक संस्कार र चिन्तनमा मैथिली संस्कृतिको प्रभाव छ। काठमाडौँका पहिलेका नाटक र नाट्य परम्पराको अध्ययनको सिलसिलामा केही मैथिल लेखक र अरू इतिहासकारले लेखेका थोरै भए पनि अर्थपूर्ण अध्ययनबाट मैले थाहा पाएअनुसार यहाँको प्रदर्शनकारी संस्कृतिभित्र मैथिली भाषा र त्यसका रचनाकारहरूको ठूलो प्रभाव छ। प्रसङ्ग उठाउनु मात्र यस लेखको उद्देश्य हो।
मैथिली भाषाले मिथिलामा हिन्दी भाषाबाट खेप्नुपरेको यातनाको कथा लामो छ। जनमत भएको बेला अङ्ग्रेज र पछि भारतको कङ्ग्रेस सरकारले मैथिली भाषीलाई हिन्दीभाषी हुँ भनेर परिचय दिने प्रचार आदेश अनि अरू कथाहरू स्व. रिचर्ड बर्गार्ट भन्ने ब्रिटिस र एक मित्रको गम्भीर अध्ययनमा हामी राम्ररी पढ्न पाउँछौँ। नेपाली भाषाको कारणले र अहिले आएर फेरि राजनीतिमा हिन्दी बोल्न नजाने पनि हिन्दीलाई राजनीतिक आधार मानेर प्रचार गरिहिँड्ने नेताहरूका आँखामा मैथिली भाषा ओझेलमा पर्ने डर सिर्जना भएको छ। अर्कोतिर मधेसीको पहाडी मूलका स्वजनहरूप्रति मैथिल कविको यस्तो भनाइ छ। मैथिली कवि धीरेन्द्र प्रेमर्षि समयलाई सलाम (२०६६) भन्ने सुन्दर मैथिल कलाले सज्जित नेपाली किताबभित्रको बाह्र नम्बर गजलमा सोध्छन्-
लोकतन्त्र आउनुपर्छ भनाइ होइन गराइमा
यतिमात्र के भनेथेँ, आगो बल्यो तराईमा
सँगसँगै काँधमाथि सूर्य बोकी ल्याकै थियौँ
तर पनि दर्छौ किन हामीलाई पराइमा?
फेरि निकैपछि नम्बर चौँतीसको गजलमा कवि व्यङ्ग्यात्मक शैलीमा भन्छन्-
तिमी भन्छौ, चाँदी अनि सुन पाए हुन्थ्यो
मचाहिँ भन्छु, रोटीमाथि नुन पाए हुन्थ्यो
प्रेमर्षिका छैसट्ठीवटा नेपाली गजलहरूमा समेटिएको वैविध्यमा मैथिल र मधेसका सिर्जनात्मक, विद्रोही र सुन्दर स्पन्दनहरू छन्। उनको काव्यको मूल सार नेपालमा मैथिल र अन्य भाषीहरूबीचको सम्बन्ध र सिर्जनाभित्र लुकिबसेका क्षणहरूको पहिचान गर्ने आह्वानमा रहेको देखिन्छ।
प्रसिद्ध जर्ज ए. ग्रिअर्सन र डब्लु.जी. आर्चर भन्ने अङ्ग्रेजी अध्येताहरूले समेत विद्यापतिको काव्यमा धर्मनिरपेक्ष काव्यिकशक्ति देखेका थिए भने आनन्दकुमार स्वामीजस्ता भारतीय विद्वानले भने सन् १९१५ मा अनुवाद गरेर निकालेको विद्यापतिका गीतमा उनलाई धार्मिक कविको रूपमा मूल रूपले चित्रण गरेको कुरा उत्तरऔपनिवेशिक अध्ययन गर्नेहरूलाई एउटा चाखको विषय हुनसक्छ। सबै अध्ययनको सार विद्यापतिको गङ्गा नदी रूपकमा भेटिन्छ भन्ने मलाई लाग्छ।
लक्ष्मण श्रेष्ठको चित्रकला र हुसेनको चित्रकलामा समातिएको मिथकको फरक चरित्रमाथि मैले काठमाडौँ पोस्ट (८ जून) मा लेखेको भोलिपल्टै हुसेनको मृत्यु भएको समाचारले भावुक भएको थिएँ। विद्यापतिको गङ्गा रूपक मेरो मनमा बलियोसँग आयो। हुसेन भारतीय भूमिको जीवन्त स्वरूपलाई आफ्नो कलाको प्राण ठान्थे। अठारौँ/उन्नाइसौँ शताब्दीमा अङ्ग्रेजले भारतीय चित्रकारहरूलाई भारतको प्रकृति र जीवन्त चरित्रभन्दा अलग अनुकृतिमूलक कलाको रचना गर्ने शिक्षा दिएर बानी पारे। हुसेनले त्यसलाई मृत-प्रकृति भन्ने संज्ञा दिए। भारतको जीवन्त र उत्ताल प्रकृतिलाई एउटा सपाट जीवनहीन कलामा उतार्न लगाए ब्रिटिसले, तिनले भने। तर हुसेनलाई हिन्दु धार्मिक अतिवादीले ज्यान मार्ने धम्की दिए। तिनले जीवनभर उपासना गरेको उनको देशको जीवन्त प्रकृति र उत्ताल शक्तिको छेउ कवि विद्यापतिजस्तो फर्किएर जीवन विसर्जन गर्न पाएनन्। तिनले पश्चिमी शैलीलाई प्रयोग गरेर बनाएको भारत भूमिको कलामा उनको भारतको प्रकृति जीवन्त हुन्छ, त्यहाँ मिथक बोल्छन्। त्यो भूमिलाई, त्यो उनले जीवनभर रचना गरेको मिथकलाई अन्तिम बेला उनले कुनै लहरमा बोलाएर जीवन अर्पण गर्न पाएनन्।
मैले यस छलफलमा अहिलेका मैथिल कवि धीरेन्द्र प्रेमर्षिका सरल काव्यले उठाएका प्रसङ्ग र विद्यापति अनि निर्वासित अवस्थामा जीवनयात्रा बिसाएका हुसेनलाई एकैठाउँमा राख्नुको अर्थ बिम्बहरूको सान्निध्य गराएर भूमि, सिर्जना र त्यसको व्याख्यातिर ध्यानाकर्षित गर्नुसम्म रहेको छ। नेपाल भन्ने भूमिमा जन्मेका काव्यधाराहरू, स्वतन्त्र चिन्तनहरू राजनीतिसँग जोडिएका छन्। नेपालमा अहिले सिर्जना र स्वतन्त्रताका धेरै सम्भावना खुलेका छन्। तर एक प्रकारको सेन्सर, विचारमाथि लगाम लाउने अनि हमला गर्ने प्रवृत्तिहरू नेपालमा जन्मिन थालेका छन्। लेखकहरू, पत्रकार र विचारकहरूमाथि हमला हुनु, धम्कीपूर्ण र क्षूद्र भाषामा गालीगलौज गरिनु, तिनको चरित्रहत्या गर्ने कोसिस हुनु सबै खतरनाक किसिमका सेन्सर हुन्। त्यसको निम्ति साहित्यकारै अथवा कलाकारै अथवा मिडिया र स्वतन्त्र राजनीति गर्ने भनिएकै एजेन्टहरू पनि प्रयोग हुनसक्ने अवस्था छ।
यो देशमा युगौँदेखि रचना भएका साहित्यिक परम्परा छन्। हैकमवादी प्रवृत्तिले तिनको उपेक्षा भइरहनु पनि एउटा मौन सेन्सर र हेजिमोनी हो। सबैका आ-आफ्ना सिर्जनाका परम्परा छन्। म र मेरो भाषामा मात्र ती छैनन्। सबै परम्पराभित्रका सिर्जनात्मक रचनाहरूको अनुशीलन गर्नु मेरो निम्ति सबैभन्दा सुन्दर विषय हो भनेर म लागिपरेँ भने स्वतन्त्र, सुखी र मुक्त हुन सक्छु भन्ने हामीलाई चेतना हुनुपर्यो । नेपालमा अहिले देखिएको विचारमाथिको हमलाले दुई अवस्थामा डरलाग्दो रूप लिन सक्छ। पहिलो हो, देशमा संविधानसभा संविधान नबनी भङ्ग हुनु अनि दोस्रो हो, हाम्रा साझा संस्कृति र संस्कार छन् भनेर नमान्नु र आ-आफ्ना कुनामा भेला भएर आत्मरति गर्नु। अहिले हुसेनको लन्डनको मृत्युले भारत चिरिएको छ। नदी र माटो सिर्जना र अस्मितामाथि भयानक बहस भइरहेका छन्। हामीलाई पनि चेतना भया।
प्रकाशित मिति : २०६८ जेष्ठ ३०
सलाम डा. अभि सुवेदी
in my life 1st time I got some respect about maithli and madesh from roller side…hope in future we will be a bunch of stick and develop our country together…jai nepal jai madesh…
सुन्दर समीक्षात्मक लेख पढ्न पाउँदा खुशी लाग्यो।
हरिः हरः!!