विज्ञान र प्रविधिले चमत्कारिक कार्य गर्दै आए पनि कलमी पौरखले संसार हल्लाउन सकेको छ । शेक्सपीयर, लक्ष्मीप्रसाद, शेली, पारिजातहरूले संसार हल्लाइरहेकै छन् । स्रष्टाले सिर्जेका कुरा हर पिँढींलाई हुन्छ । विश्व मानव सभ्यताका निम्ति सृष्टिकर्ता अमृ्ल्य नीधि हो । स्रष्टाले नयाँ सृष्टि गर्छ । त्यसैले पनि ऊ समाजको अति नै महत्वपृ्र्ण व्यक्ति हो । आजका स्रष्टाका कलमले समाजका अमिल्दा पक्षप्रति खबरदारी गर्नुपर्छ । समाजमा व्याप्त थिचोमिचो, शोषण–दमनलाई हटाउन कलमी युद्धमा होमिनु जरुरी हुन्छ । समाजमा नौलो चेतना छर्न सकेमा मात्र असली अर्थमा स्रष्टा कहलिन सकिन्छ । सञ्चार, साहित्य, कला, संस्कृतिको विकास भन्ने नाम सुन्नासाथ कुम्भकर्ण निन्द्रामा रहने संस्कार नेपालका हरेक सरकारमा छ । सञ्चार, साहित्य, कला, संस्कृतिमा लाग्नेहरूको जीवनवृत्तिको लागि सरकारी क्षेत्रबाट नै विशेष, विशेष काम पश्चिमी राष्ट्रमा हुन्छ भन्ने कुरा साहित्यकार कृष्ण धरावासी बताउनुहुन्थ्यो । जीवनवृत्तिको त कुरै छाडौँ, हामीकहाँ चाहिँ मान्छेले कलम र वाणीको पेशामा रहेर जीवन बचाउन हम्मे पर्यो, परिरहेछ । मिथिलाञ्चल पनि कला–संस्कृति, रहनसहन, पर्व मेलामा कोहीभन्दा कम छैन, सांस्कृतिक सम्पदाले धनी छ, समृद्धशाली छ । नेपालीहरूको सांस्कृतिक सम्पत्तिको ठूलो हिस्सा मिथिलाञ्चलले ओगटेको छ । मैथिल नारीहरू सर्जक बनेर सिर्जना गर्ने मिथिला चित्रकला त नेपालीहरूको निजी सम्पदा बनेको छ । विश्व माझ नेपालीलाई चिनाउने एउटा अनुपम कडी बनेको छ । जानकी मन्दिर, शखडेश्वरी भगवती मन्दिर, राजदेवी मन्दिर, कंकालनी मन्दिरजस्ता मन्दिरहरू विश्व हिन्दू धर्मावलम्बीकै पवित्र तीर्थस्थल हुन् । मधेशका रत्नपुत्रपुत्रीहरूले नेपालको मान र सान उच्च बनाएको जिउँदो इतिहास हाम्रा सामु छँदैछ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव हुन् या उपराष्ट्रपति परमानन्द झा हुन् वा अन्तर्राष्ट्रिय खेलकुद (क्रिकेट) का खेलाडी महबुब आलम नै किन नहुन् सबैले नेपालीहरूको शिर उच्च पार्न आफ्नो ठाउँबाट यथेष्ठ योगदान पुर्याउँदै आएका छन् । जनयुद्धको रणमैदानबाट जन्मेका कवि राजेश विद्रही हुन् या शहादत प्राप्त रामवृक्ष यादव, शाकेतचन्द्र मिश्र, दिलिप चौधरी सबैले गर्विलो इतिहास बनाइदिएका छन् । त्यस्तै साहित्य, सङ्गीत, सञ्चार, अभिनय, उद्घोषणजस्ता विविध फाँटमा एकनासे योगदान पुर्याएर मिथिलाञ्चलको छाती ढक्क फुलाइदिने र नेपालीहरूको शिर उच्च तुल्याइदिने एक बहुमुखी प्रतिभा धनी व्यक्तित्व हुन्– धीरेन्द्र प्रेमर्षि । मैथिली र नेपाली दुबै भाषामा उत्तिकै दक्षता भएका प्रेमर्षिले बालबालिकाहरूका लागि कक्षा १ देखि कक्षा १० सम्मको मैथिली भाषाको पाठ्यपुस्तक लेखन एवं सम्पादन गरेका छन् भने प्रौढ साहित्यमा ‘कोन सुर सजाबी ?’ र ‘मैथिली कविता सङ्ग्रह’ जस्ता मैथिली भाषामा कृतिहरू प्रकाशित गरिसकेका छन् । नेपाली भाषामा लेखिएको प्रेमर्षिको ‘समयलाई सलाम’ शीर्षकको गजल सङ्ग्रह मेरो हातमा परेको छ । यस सानो लेखमा उनै बहुचर्चित र लोकप्रिय सर्जक प्रेमर्षिको गजल सङग्रह ‘समयलाई सलाम’ भित्रका आवाजरूलाई बुलन्द पार्ने प्रयास गरिएको छ ।
‘समयलाई सलाम’ भित्र समेटिएका ६६ वटा मर्मस्पर्शीमध्ये गजलको प्रारम्भमै क्रान्तिकारी आवाज धन्काइएको छ ।
भोक लाग्दा सबैले नै खाना पाउनुपर्छ,
अनि मात्र सुशासनको गाना गाउनुपर्छ ।।१।।
बसिखाने र गरिखाने बीचको वर्गीय द्वन्द्वको स्पष्ट झलक उनका गजलले दिन्छन् । वास्तवमा सुशासनको रट लगाउनु अघि सबैले खाना खान पाउँदा, त्यही खानाको जोह गर्न काम गर्न पाउँदा नै समाजले अग्रगति लिन सक्छ । वेरोजगारहरूको काल पर्खने स्थान मात्र मुलुकलाई पार्ने हो भने त्यो समयलाई कुल्चेर हिँडेको ठहरिन्छ । त्यसै गरी राष्ट्रिय एकता नै आजको आवश्यकता भएको महसुस गर्दै गजलकार प्रमर्षि सबै नेपालीहरू मिली होस्टेमा हैंसे थप्नुपर्ने आवश्यकता देख्दछन् ।
काँधमाथि देश उठाई सगरमाथा चढ्नलाई,
होस्टेमाथि हैंसे गर्दै सबले पाइला चाल्नुपर्यो ।।२।।
राम्रो र हाम्रो नयाँ नेपाल निर्माणका निम्ति गजलकारले विभेद रहित समाजिक संरचनाको परिकल्पना गरेका छन् । जातिय, क्षेत्रीय, लैङ्गीक समस्याहरू समाधान नै वर्तमानको एक आवाज हो । सोही आवाजलाई सार्वजनिक गर्न गजलकार भन्दछन्–
काँधमा बोक्या सगरमाथा धेरै नै गह्रुङ्गो भयो,
भत्काएर यसलाई अब चौतर्फी सम्याऊँ साथी ।।३।।
युद्ध विभीषिकाको सम्झना गर्ने काम समेत गजलमा भएको छ । शान्तिलाई बचाएर राख्ने काम सबैको हो । शान्ति कलिलो र कफलो हुन्छ । त्यसलाई हुर्काउनु, बचाउनु गाह्रो हुन्छ तर नाश गर्न वा भङ्ग गर्न सजिलो हुन्छ । हो, त्यही शान्तिको घाँटी निमोठ्ने काम प्रशासनीक संयन्त्रद्वारा नै भएको र नेपाली जनताले कहर काटेर जिउनु परेको दुरदशालाई मार्मिकतरवले प्रस्तुत गर्ने काम गजलमा भएको छ ।
उड्दाउड्दै परेवा त्यो आकाशमै ढलेको छ,
चारो छर्ने हातबाटै गाली हजुर चलेको छ ।।४।।
शान्तिसँग द्यौती पनि कहाँ गई गुहार्ने हो,
परेवाको खोपभित्रै बाज पनि अँटेपछि ।।५।।
हरेक कार्य सफलतापूर्वक सम्पन्न गर्न चुक्नुहुन्छ, राम्रो काम गर्नलाई कुनै साइत जुराउनु पर्दैन । शान्ति विनाशकहरू स्वाभिमानी शिर गिराउन खोज्छन्, त्यस वेला सचेत भएर आफ्नो स्वअस्तित्वलाई बचाउनुपर्छ–
अब चाहिँ नसुतून् है उज्यालाका यी प्रहरी,
झनै गाढा रात आउला फेरि पनि चुकेपछि ।।६।।
लोकप्रिय लयात्मक विद्या गजल भावयुक्त शब्दहरूको चिटिक्क परेको फूलबारी हो । जहाँ काफिया–रदिरूपि सुन्दर थुँगाहरू विनारोकटोक आनन्दसाथ फक्रन्छन् । जसले दिने सुवास र रोमाञ्चकताको हिसावकिताव गरेर साध्य हुँदैन । लयात्मकता, सरलता, मिसराहरू बीचको उपयुक्त समायोजन, काफिया र रदिफ बीचको सान्दर्भिक तालमेल, गजलद्वारा प्रकट भावको गहिराइ जस्ता आधारभूत पक्षहरू आन्तरिक संरचनाभित्र पर्नुपर्छ र गजलको वाह्यसंरचना भित्र भने काफिया, रदिफ, मतला, मकता, तखल्लुस, मिसरा, मिसरा–ए–उला, मिसरा–ए–सानी, सेर र बहर जस्ता आधारभूत तत्वहरू पर्दछन् । यी गजलका आन्तरिक र वाह्य दुवै संरचनाका सबै खाले गुणहरू गजलकार धीरेन्द्र प्रेमर्षिमा पाइँदैनन् । सबै खाले गुण विद्यमान नभए पनि गजल नहुने चाहिँ होइन । विशेष गरेर गजलमा सरलता, लयात्मकता, मिसराहरू बीचको सम्बन्ध, काफिया र रदिफको तालमेलजस्ता पक्षहरू सशक्त रूपले आउनुपर्छ । यी सम्पूर्ण गुणहरू ‘समयलाई सलाम’ भित्र पाउन सकिन्छ ।
आमाको (मैथिलीको) काखमा बसेर गरेका अनुभूति र चिन्तनलाई सानिमा (नेपाली) को काखमा बिसाएको छु भनेर नेपाली भाषामा गजल सङ्ग्रह ‘समयलाई सलाम’ नेपाली साहित्य भण्डारमा समर्पण गर्ने गजलकार प्रेमर्षिले मैथिली संस्कृतिका आवाजहरूलाई भने धेरै ठाउँमा समेटेका छैनन् । एस.सी. सुमनद्वारा मिथिला चित्रकलामा आधारित सुन्दर चित्रले सङ्ग्रहको आवरण रंगाइदिएका भने छन् जुन बडो मनमोहक प्रतित हुन्छ । पहाडिया अहंकारवादले मधेसलगायत अन्य क्षेत्रका निम्छरावर्गलाई सताएको र अहिले लोलोपोतो गर्दै राष्ट्रिय अभियानमा सरिक हुन आह्वान गरेको सन्दर्भलाई टपक्क टिपेर गजलकारले अहंकारको मुखैमा झापड हान्न भने बिर्सेका छैनन् ।
तिम्रो मनको खोपीमा नि मेरो गुच्छा पिल्नुपर्छ,
अनि पो त भन्न पाइयो साथी–साथी मिल्नुपर्छ ।
डाँडाभरि लालीगुँरास फक्रिएर मात्र हुन्न,
मैदानको पर्तीमाझ चम्पा पनि खिल्नुपर्छ ।।१३।।
“गणतन्त्र नेपाल” बनेपनि राजनैतिक फोहोरी खेल दोहरिएकोमा गजलकार रुष्ट छन् । जनतालाई तड्पाउने हक नेतानेतृलाई नभएको भन्ने आवाज निकाल्न समेत उनी पछि परेका छैनन् ।
हिजो जस्तो फेरि जालझेल चल्न थाल्यो,
खुट्टा तान्ने पुरानै त्यो खेल चल्न थाल्यो ।
अचम्मको यात्रा रै’छ संविधान–सभा,
इन्जिनको पत्तो छैन, रेल चल्न थाल्यो ।।२५।।
‘म मैथिलीमा रुन्छु र नेपालीमा आँसु पुस्छु, म मैथिलीमा सोच्छु र नेपालीमा बोल्छु’ भनेर मैथिली र नेपाली भाषालाई भाषिक अभिव्यक्तिको उत्तिक्कै सशक्त माध्यम ठान्ने र प्रेम वर्साउने गजलकार प्रेमर्षि ‘प्रेम’ का ‘ऋषि’ बन्न सकेका छैनन्– ‘समयलाई सलाम’ गजल सङ्ग्रहमा । एकाध ठाउँमा भने शिष्ट श्रृङ्गारिक रसयुक्त अभिव्यक्तिलाई स्थान दिन भने चुकेका छैनन् ।
खोल्सा–खोल्सी खहरेको मात्र कुरा छैन यहाँ,
तिम्रा लागि असारको कोसी पनि तारिदिउँला ।
अजम्बरी नाता हो यो तिम्रो माया भनी,
दुनियाँले नबुझेमा अन्तै डेरा सारिदिउँला ।।४२।।
अब भने सङ्गीत, साहित्य र सञ्चारका त्रिवेणी जाँगरिला व्यक्तित्व गजलकार धीरेन्द्र प्रेमर्षिको ‘समयलाई सलाम’ भित्रबाट उनका गजलकारीताका प्रवृत्तिहरूलाई पर्गेल्ने जमर्को गरिएको छ । गजलकार प्रेमर्षि आफ्ना गजलमार्फत–
१. क्रान्तिकारी आवाजलाई घनीभूत पार्छन् । २. राष्ट्रिय एकताको शंखघोष गर्छन् । ३. नयाँ नेपाल निर्माणको तीव्र चाह समेट्छन् । ४. युद्ध विभीषिकाको मार्मिक ढङ्गले चित्रण गर्छन् । ५. समाजका वेमेल प्रवृतिप्रति कठोर व्यङ्ग्य प्रहार गर्दै स्वतन्त्रता र स्वाधीनताको पक्षमा मत सार्वजनिक गर्छन् । ६. अन्धविश्वासी, रुढिवादी एवं जढसूत्रवादीहरूको झाँको झार्छन् । ७. गजलमा शब्दको थुप्रो हैन अर्थ वा भाव हुनुपर्ने विचार प्रकट गर्छन् । ८. आठदेखि उन्नाइस अक्षरमा आधारित गजल राखेर आक्षरिक लयमा गजललाई बाँध्ने प्रयत्न गर्छन् । ९. प्रचलित बिम्ब एवं प्रतीकहरूको सशक्त प्रयोग गर्दै रूपक एवं उपमा अलङ्कारले युक्त पार्छन् । १०. शिष्ट श्रृङ्गारिक रसयुक्त गजल लेख्न माहिर देखिन्छन् । ११. गजलमार्फत प्रतिपक्षमा रहेर सत्ताधारीलाई खबरदारी गर्छन् । यी माथि वर्णित कार्यव्यापार सम्पन्न गर्ने प्रेमर्षिका गजलयीय प्रवृत्तिलाई बुँदागत रूपमा निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
क. आमूल परिवर्तनको पक्षमा चेतनाको अभिव्यक्ति, ख. परिवर्तनकामीहरूको योगदानको सम्मान, ग. यथास्थितिवादी र पश्चगमनवादीहरूको क्रियाकलापको विरोध, घ. उत्पीडित वर्गप्रति सहानुभूति र उत्पीडनकारी वर्गप्रति भत्र्सना, ङ. सामन्तवाद–साम्राज्यवाद–पूँजीवादको विपक्षमा खडा, च. राज्य आतङ्कप्रति कठोर शब्दवाण प्रहार, छ. राष्ट्रप्रेमी स्वर गुञ्जायमान, ज. समाज रूपान्तरणको अभिलाषी, झ. पुरुषतन्त्रको कडा विरोध, ञ. क्रान्तिको फल ‘शान्ति’को स्वाद चाख्ने चाहना, ट. श्रमजीवि वर्गको विजय हुने आशावादी दृष्टिकोण, ठ. आपसी भाइचाराको सम्बन्धलाई सुदृढिकरण गरी राष्ट्रोत्थानमा सरिक हुन आह्वान । यिनै प्रवृत्तिहरू स्रष्टा प्रेमर्षिका गजलभित्र ठम्याउँन सकिन्छ ।
जे गर्न पनि प्रतिभा चाहिन्छ । प्रतिभाको अर्को नाम सीप, कला, दक्षता हुन सक्छ । रहरले प्रतिभा जन्मदैन, प्रस्फुटन हुँदैन । निरन्तर अभ्यास, कठिन साधनाले नै मानिसमा रहेको प्रतिभा पक्रने गर्दछ । हरेक मानिसमा बराबरी ढङ्गले प्रतिभा अन्तर्निहित हुन्छ तर त्यो कोपिलाकै अवस्थामा हुनछ । कसैले सजिलै, छोटै समयमा त्यसलाई फक्राउँछन् त कसैलाई कठिन साधना गर्नुपर्छ र फक्रन समय लाग्छ । हामी जीवनपर्यन्त ज्ञान लिई रहन्छौं, प्रतिभा फक्राइरहन्छौं । गजल लेखनको बाढी आएको छ तर कोही सैद्धान्तिक जानकारी लिएर गजल लेख्छन् त कोही देखासिकी गर्दै लेखिरहेछन् । गजल सैद्धान्तिक र अनुशासित विधा हो । यो सङ्गीतसँग सम्बन्धित हुन्छ । गलजमा प्रेमप्रधान विषयका अतिरिक्त आर्थिक, सामाजिक, सांस्कृतिक, राजनैतिक एवं धार्मिक विषयवस्तुहरू रहन सक्छन् । यसमा शब्दगत सरलता, हार्दिकता, समर्पण, त्यागजस्ता भावनाहरूको गहिरो छाप हुन्छ । गजलमा संवेदनशीलता, भावुकता र हृदयविदारकता जस्ता गुणहरू प्रशस्त भेटिन्छन् । क्रान्तिकारी आवाज बुलन्द र्ने गजलहरूमा भने सामाजिक बेथितिप्रति आक्रोशपूर्ण आवाज पनि धन्कन सक्छ । गजल सैद्धान्तिक बन्धनले बाँधिएको तर भावको गहिराइ भएको र त्यसमा शाब्दिक चमत्कार, सरलता, कोमलता र हार्दिकपन भने नितान्त जरुरी हुन आउाछ । लयात्मकता, सरलता, सरसता, मिसराहरूको उचित रखाइ, काफिया र रदिफ बीचको तालमेल, भावको गहिराई सौन्दर्य र दृष्टिकोण जस्ता गजलका आधारभूत कुराहरू आन्तरिक संरचनाभित्र पर्ने कुराहरू हुन् भने काफिया, रदिफ, मतला, मकता, तखल्लुस आदिको उत्कृष्ट प्रयोग वाह्य संरचना हो । यो गजलको शरीर हो । १. काफिया, २. रदिफ, ३. मतला, ४. मकता, ५. तखल्लुस, ६. मिसरा, ७. मिसरा–ए–उला, ८. सेर, ९. बहर । यी सबै तत्वहरूको उचित निर्वाह गजलकार प्रेमर्षिबाट सबै गजलहरुमा भएको भने पाइन्न तर कुनै गजलमा एक थरीको गुण पाइन्छ भने अर्कामा अर्कै थरीको विशेषता पाइन्छ । जे होस् गजलको व्याकरण म त्यत्ति जान्दिनँ भने पनि गजलकार गजलका नियमहरूबाट अनविज्ञ भने छैनन् । यसको प्रमाण नै ‘समयलाई सलाम’ भित्रका गजल हुन् ।
निश्चय नै साहित्य र कलाले गलत चिन्तन र प्रवृत्तिको भण्डाफोर गरी नयाँ परिवर्तनमा ठूलो भूमिका खेल्नुपर्छ किनकि सामन्ती सत्ताले दवाइराखेका क्रान्तिकारी, समाजवादी, यथार्थवादी साहित्य र कलाबाट जनता विमुख भएमा मुलुकले सही दिशा पक्रन सक्दैन । प्रगतिवादी चिन्तन र धरातलबाट नै नेपाली समाजले न्याय, समानता र स्वतन्त्रता प्राप्त गर्न सक्छ । आजका स्रष्टाहरूबाट श्रमजीवि, सर्वहारावादी एवं न्यायप्रेमी नेपाली जनताले चेतनाको उज्यालो घाम पाउने अपेक्षा राख्नु अन्यथा होइन । प्रगतिवादी चिन्तन र धरातलमा रहेर कविताकाव्य, गजलगीती विधामा कलम चलाएका र रचालाई रहेका कृष्ण सेन ‘इच्छुक’, पूर्णविराम, जसराज किराँती, घनश्याम ढकाल, दिल सहानी, मित्रलाल पंज्ञानी, ईश्वरचन्द्र ज्ञवाली, मातृका पोखरेल, रामप्रसाद ज्ञवाली, जगदीशचन्द्र भण्डारी, हरिगोविन्द लुइँटेल, पुन्य कार्की, देवी नेपाल, अनिल पौडेल, रमेश भट्टराई, सुधा त्रिपाठी, अमर गिरी, रामविक्रम थापा, हीरामणि दुःखी, सुकुम शर्मा, प्रदीप बालाचन, गंगा श्रेष्ठ, अशोक सुवेदी, राजकुमार कुँवर, मणि थापा, सत्य पहाडी, सरला रेग्मी, लक्ष्मी माली, खेम थपलिया, डीपी ढकाल, नमुना, एम बटुवा, महेश्वर शर्मा, चेतकान्त चापागाईँ, रविकिरण निर्जीव, सिर्जना ढकाल, बन्दना ढकाल, नुमराज बराल, नारायण परिश्रमी, पोषराज पौडेल, जीवन शर्मा, राजेन्द्र पौडेल, सीमा शर्मा, हेमराज पहारी, सरिता तिवारी, नारायण मरासिनी, कृणराज अधिकारी, केदार शर्मा ढकाल, पूर्णवहादुर अधिकारी, माधवप्रसाद सुवेदी, निभा शाह, वेणु आचार्य, रामप्रसाद जैसी, यज्ञवहादुर डाँगी, देवेन्द्र पौडेल, आरपी तिमिल्सिना, अनिल श्रेष्ठ, भानु भण्डारी, यज्ञराज प्रसाई, दिनेश दुलाल, शोभा थापा, कमला रोक्का, चुनु गुरुङ, गणेश भण्डारी, मोदनाथ मरहठ्ठा, वान्तवा वसन्त, जनक महतारा, धनेश्वर पोखरेल, अनिल शर्मा, सीता शर्मा, कुसल वोगटी, गणेश शाही, पीपी आचार्य, युवराज काफ्ले, दीपक चिन्तक, नन्दलाल आचार्य, केएल पीडित, दीपक विश्वकर्मा, अर्जुन ज्ञवाली, ओमकारनाथ ज्ञवाली, कविराज पौडेल, यानेन्द्र जी.सी., झकवहादुर मल्ल, खगेन्द्र राना, पञ्चकुमारी परियार, लोकेन्द्र विष्टजस्ता दर्जनौँ कविकवयित्रीहरूमा दरिलो स्थान बनाएका प्रगतिवादी कवि एवं गजलकार हुन्– धीरेन्द्र प्रेमर्षि। लेखनको प्रारम्भिककालीनमा जेजस्तो धारमा कलम चलाउँदै आए पनि यस समयमा र यस गजल संग्रहमा भने प्रेमर्षिले शोषणरहित समाजको निर्माणका निम्ति आफ्नो कलमको मसी सुकाउँदै आएको पाइन्छ । उनका गजलहरू शक्तिशाली बन्दुकका गोलीजस्ता चोटिला र प्रभावयुक्त छन्। समाज रूपान्तरणको चाहनाले ओतप्रोत भएको पाइन्छ। समाजका अमिल्दा कुराहरूलाई पचाउन नसक्ने र विद्रोही आवाज ओकल्ने गजलकारका रूपमा प्रेमर्षि ‘समयलाई सलाम’ गजल संग्रहमा खरो साथ उभिएका छन् ।
हालः लिट्ल फ्लावर मा.वि., राजविराज–९, सप्तरी
तपेश्वरी–१, गल्फडिया, उदयपुर,